मलंगवा – पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका अप्रत्याशित, असहज तथा संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा शान्ति सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा जारी सार्वजनिक अपिलमा सर्लाहीको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धतालाई कायम राख्दै जिल्लावासीलाई पूर्ण संयमता अपनाउन अनुरोध गरिएको छ।

जातीय, धार्मिक वा सामाजिक सद्भाव खलल पुग्ने किसिमका भ्रामक, आपत्तिजनक सामग्री तथा भिडिओ सामाजिक सञ्जालमार्फत सम्प्रेषण वा सेयर नगर्न प्रशासनले आग्रह गरेको छ। त्यस्ता गतिविधिमा संलग्न भई सामाजिक सद्भाव बिगार्ने कार्य गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रशासनले कुनै पनि प्रकारको द्वन्द्व वा असमझदारी उत्पन्न भएमा संवाद, छलफल र वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न सबै पक्षसँग अपिल गरेको छ। जिल्लामा शान्ति सुरक्षा र कानुनी राज्यको पालना कायम गराउन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई पूर्ण सहयोग गर्न पनि आग्रह गरिएको छ।
कुनै शंकास्पद वा अवाञ्छित गतिविधिबारे जानकारी प्राप्त भएमा वा हुन सक्ने देखिएमा तत्काल सम्बन्धित निकायलाई सूचना दिन प्रशासनले अनुरोध गरेको छ। सार्वजनिक अपिलमा भनिएको छ, “हाम्रो साझा प्रयास, उच्च संयमता र परिपक्वताले नै आपसी भाइचारा, सांस्कृतिक ऐक्यबद्धता, दिगो शान्ति र सामाजिक सद्भाव कायम रहनेछ।”





