पर्सामा कुटपिटबाट घाइते महिलाको मृत्यु, एक जना पक्राउ

२०८३ श्रावण १५, शुक्रबार ११:१२
सांकेतिक तस्बिर

सर्लाही – पर्साको वीरगञ्ज महानगरपालिका–१४, पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अर्का व्यक्तिको खोजी भइरहेको छ।

गत असार ३१ गते बिहान करिब १०:५० बजे सडक विस्तारका क्रममा भत्काइएको घरको इँटा हटाउने विषयमा विवाद भएको थियो। विवादका क्रममा स्थानीय करिब ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएकी लिलावती देवीलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी थिइन्। तर, केही समयपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि उनलाई पुनः नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा साँझ करिब ७:२० बजे चिकित्सकले लिलावती देवीलाई मृत घोषणा गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा लक्की प्रसाद पटेललाई प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

घटनाका अर्का आरोपित मनोज प्रसाद कुर्मी फरार रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार