सर्लाहीमा सुरक्षा कडाइ: भारतबाट प्रवेश गर्दा परिचयपत्र अनिवार्य

२०८३ श्रावण १५, शुक्रबार ११:३१

मलंगवा – जिल्लामा शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायले निगरानी र सतर्कता बढाएको छ। यससँगै भारतबाट सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र देखाउनुपर्ने भएको छ।

बिहिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार छिमेकी भारतबाट सर्लाहीका विभिन्न सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिले परिचय खुल्ने आधिकारिक कागजात अनिबार्य देखाएपछि मात्र प्रवेश अनुमति पाउनेछन्।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार जिल्लाको शान्ति सुरक्षालाई ध्यानमा राख्दै सीमा क्षेत्रमा जाँच तथा निगरानी कडा पारिएको हो। परिचयपत्रको आधारमा यात्रुको पहिचान सुनिश्चित गरी मात्रै नेपाल प्रवेश गर्न दिइने उनले बताए।

बिहीबार साँझसम्म जिल्लाको शान्ति सुरक्षा अवस्था सामान्य रहे पनि शुक्रबार हिन्दु सम्राट सेनाले यसघि नै सदरमुकाम मलंगवामा बजार बन्दको घोषणा गरेको थियो। आज बिहान मलंगवाका विभिन्न स्थानमा शान्तिपूर्ण प्रदर्शन भइरहेको प्रहरीले जनाएको छ भने प्रत्यक्षदर्शिका अनुसार मलंगवामा सेनाको टोलि खटिएको छ।

सम्भावित अप्रिय घटना रोक्न तथा जिल्लामा शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखिएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले परिस्थितिमाथि निरन्तर निगरानी गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार