सर्लाही – नेकपा (एमाले) परित्याग गरेको आधारमा निर्वाचन आयोगले रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमीलाल साह कानु र वडा नम्बर ४ का वडाध्यक्ष रामप्रवेश प्रसाद कुर्मीको निर्वाचित पद रिक्त भएको जनाएको छ।
दुवै जना २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका थिए। पार्टीको विधानविपरीत गतिविधि गर्दै दल परित्याग गरेको भन्दै एमालेले निर्वाचन आयोगमा जानकारी गराएपछि कानुनी प्रक्रिया पूरा गरी उनीहरूको पद रिक्त गरिएको हो।

निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूचनामा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ बमोजिम दुवै जनप्रतिनिधिको पद स्वतः रिक्त भएको उल्लेख गरेको छ।
एमाले केन्द्रीय सचिवालयले नगरप्रमुख कानु र वडाध्यक्ष कुर्मीले पार्टी परित्याग गरेको निर्णयसहितको प्रतिलिपि निर्वाचन आयोगमा पठाएको थियो। सोही निर्णयका आधारमा आयोगले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूले निर्वाचित पद गुमाएको जनाएको छ।
निर्वाचन आयोगले एकैपटक देशभरका विभिन्न स्थानीय तहका छ जना जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको सूचना सार्वजनिक गरेको छ। उक्त सूचीमा देवाही गोनाही नगरपालिकाका नगरप्रमुख कानु र वडा नम्बर ४ का वडाध्यक्ष कुर्मी पनि समावेश छन्।
नगरप्रमुख कानुको पद रिक्त भएसँगै रौतहटमा नगरप्रमुखविहीन नगरपालिकाको संख्या तीन पुगेको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादव र गढीमाई नगरपालिकाका प्रमुख श्याम यादवको पद पनि रिक्त रहेको थियो।
यससँगै रौतहटमा देवाही गोनाही, फतुवा विजयपुर र गढीमाई नगरपालिका नगरप्रमुखविहीन बनेका छन्।





