सर्लाही – रौतहटको कटहरिया नगरपालिका – ३ बडेर्बामा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा १८ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको कटहरिया – ३ बडेर्बा निवासी ७५ वर्षीया तेतरी खातुनको हत्या गरेको आरोपमा उनका नाति साहिल शेख पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा साहिल नै घटनामा संलग्न रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

खातुनको शव साउन १४ गते उनका माइला छोरा शेख निमुदिनको घरभित्र रहेको खाटमा फेला परेको थियो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो।
प्रारम्भिक अनुसन्धानबाट साहिलले हजुरआमाको हत्या गरेको देखिए पनि घटनाको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।





