सर्लाही – सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा मधेस प्रदेशका विभिन्न पाँच जिल्लाबाट सर्लाहीका नौ जनासहित ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सा जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव बिगार्न सक्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सबैभन्दा धेरै धनुषाका १९ जना रहेका छन्। त्यस्तै, सर्लाहीका ९ जना, सिरहाका ५ जना, महोत्तरीका २ जना तथा पर्साका एक जना पक्राउ परेका छन्।
पछिल्लो समय विभिन्न स्थानमा देखिएका संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै प्रहरीले सामाजिक सद्भाव, शान्ति सुरक्षा र आपसी सहअस्तित्व कायम राख्न निगरानी तथा सुरक्षा सतर्कता बढाएको जनाएको छ।
प्रहरीले सामाजिक तथा धार्मिक सद्भावमा असर पार्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै कानुनविपरीत गतिविधिमा संलग्नमाथि आवश्यक कारबाही गरिने जनाएको छ।





