सर्लाहीमा निकालियो सद्भाव र्‍याली, धार्मिक एकता र भाइचारा कायम राख्न अपिल

२०८३ श्रावण १६, शनिबार १०:४८

मलंगवा – धार्मिक एकता, सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने सन्देशसहित सर्लाहीको हरिवन र लालबन्दीमा सद्भाव र्‍याली निकालिएको छ।

पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका धार्मिक तथा साम्प्रदायिक रूपमा संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै शनिबार बिहान हिन्दु मुस्लिम समुदाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, नागरिक समाज तथा सर्वसाधारणको सहभागितामा र्‍याली निकालिएको हो।

हरिवन नगरपालिकामा निकालिएको सर्वपक्षीय धार्मिक सद्भाव र्‍यालीले बजार क्षेत्र परिक्रमा गर्दै धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी भाइचारा कायम राख्न सन्देश प्रवाह गरेको थियो।

र्‍यालीमा सहभागीहरूले कुनै पनि धर्म वा समुदायबीच घृणा, अविश्वास र विभाजन फैलाउने गतिविधिबाट सचेत रहन तथा समाजमा शान्ति र सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

यसैगरी, धार्मिक तथा साम्प्रदायिक विवादले समाजमा विभाजन ल्याई देशलाई राष्ट्रिय एकताको मार्गबाट विमुख बनाउन सक्ने चिन्ता व्यक्त गर्दै लालबन्दीमा पनि सद्भाव र्‍याली निकालिएको छ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुबेदी र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रबिन्द्र पौडेलको उपस्थितिमा निकालिएको र्‍यालीमा विभिन्न धर्म तथा समुदायका प्रतिनिधि, स्थानीय सरोकारवाला र सर्वसाधारणको सहभागिता रहेको थियो।

र्‍यालीका सहभागीहरूले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले धार्मिक विविधतालाई विभाजनको आधार नभई राष्ट्रिय एकता र सामाजिक सहअस्तित्वको साझा शक्तिका रूपमा लिनुपर्ने बताएका थिए।

सहभागीहरूले धार्मिक आस्था र पहिचानको सम्मान गर्दै अफवाह, भ्रामक सूचना तथा साम्प्रदायिक तनाव फैलाउने गतिविधिप्रति सचेत रहन सबैमा अपिल गरेका छन्। उनीहरूले समाजमा शान्ति, सहिष्णुता र आपसी विश्वास कायम राख्न सबै समुदायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा समेत जोड दिएका छन्।

हरिवन र लालबन्दीमा निकालिएको सद्भाव र्‍यालीले हिन्दु मुस्लिम समुदायबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै धार्मिक एकता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार