मलंगवा – मधेस प्रदेशसहित देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनदेखि देखिएको असहज तथा संवेदनशील परिस्थितिकाबीच सर्लाहीको मलंगवा नगरपालिकामा सर्वपक्षीय धार्मिक तथा साम्प्रदायिक सद्भाव र्याली निकालिएको छ।
समाजमा शान्ति, धार्मिक सहिष्णुता, आपसी एकता र भाइचारा कायम राख्ने उद्देश्यले मलंगवा नगरपालिकाले र्याली आयोजना गरेको हो। र्यालीमा संघीय सांसद, प्रदेश सांसद, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगर प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, सामाजिक अभियन्ता, हिन्दु तथा मुस्लिम समुदायका अगुवा र स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो।

त्यस्तै, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेललगायत सुरक्षा निकायका प्रतिनिधिहरू पनि र्यालीमा सहभागी भएका थिए।
र्यालीमा सहभागीहरूले पछिल्लो समय विभिन्न स्थानमा उत्पन्न भएका असहज तथा संवेदनशील घटनाक्रमप्रति सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले कुनै पनि घटना वा विषयलाई लिएर धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्न नदिन सबै समुदाय सचेत र जिम्मेवार बन्नुपर्ने बताएका छन्।
सहभागीहरूले सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक तथा उत्तेजक सूचनाको पछि नलाग्न आग्रह गर्दै आपसी संवाद, सहकार्य र सहिष्णुतामार्फत शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरेका छन्।
र्यालीमार्फत धार्मिक विविधता नेपाली समाजको साझा पहिचान र शक्ति भएको सन्देश प्रवाह गरिएको थियो। विभिन्न धर्म, जातजाति र समुदायबीच आपसी सम्मान, विश्वास र भाइचारा कायम राख्दै सामाजिक एकता थप बलियो बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको थियो।





