पछिल्लो साढे तीन महिनामा विपद्का चार हजार ५३ घटना, १ सय ९६ जनाको मृत्यु

२०८३ श्रावण १७, आईतवार १६:२५
file image

सर्लाही – चालु वर्षको वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशका विभिन्न स्थानमा भएका विपद्जन्य घटनामा परी एक सय ९६ जनाको मृत्यु भएको छ। यस अवधिमा चार जना बेपत्ता भएका छन् भने एक हजार दुई सय १८ जना घाइते भएका छन्।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार साढे तीन महिनाको अवधिमा देशभर चार हजार ५३ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनाबाट पाँच हजार एक सय ८८ परिवार प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार यस अवधिमा सर्पदंशबाट सबैभन्दा बढी मानवीय क्षति भएको छ। देशभर भएका सात सय १६ वटा सर्पदंशका घटनामा ५४ जनाको मृत्यु भएको छ भने छ सय ६८ जना घाइते भएका छन्। सर्पदंशका कारण सात सय १८ परिवार प्रभावित भएका छन्। चट्याङका दुई सय ३१ वटा घटनामा २५ जनाको ज्यान गएको छ भने एक सय ३२ जना घाइते भएका छन्। चट्याङबाट दुई सय ७७ परिवार प्रभावित भएका छन्।

यस्तै, लेक लाग्ने ५७ वटा घटनामा २२ जनाको मृत्यु र ३६ जना घाइते भएका छन्। यसबाट ५६ परिवार प्रभावित भएका छन्। साढे तीन महिनाको अवधिमा पहिरोका छ सय ८५ वटा घटना भएका छन्। ती घटनामा २० जनाको मृत्यु, एक जना बेपत्ता र ३० जना घाइते भएका छन्। पहिरोबाट पाँच सय ८६ परिवार प्रभावित भएका छन्।

आगलागीका एक हजार २४ वटा घटनामा २० जनाको मृत्यु भएको छ भने एक सय ३९ जना घाइते भएका छन्। आगलागीबाट एक हजार एक सय ३३ परिवार प्रभावित भएका छन्। जनावरको आक्रमणका दुई सय २५ वटा घटनामा १८ जनाको मृत्यु भएको छ भने एक हजार दुई सय २० जना घाइते भएका छन्। ती घटनाबाट तीन सय ४२ परिवार प्रभावित भएका छन्।

बाढीका दुई सय वटा घटनामा १४ जनाको मृत्यु, तीन जना बेपत्ता र १० जना घाइते भएका छन्। बाढीबाट चार सय ५० परिवार प्रभावित भएका छन्। त्यस्तै, हावाहुरीका चार सय ८० वटा घटनामा १३ जनाको मृत्यु र ६८ जना घाइते भएका छन्। हावाहुरीका कारण एक हजार तीन सय ५८ परिवार प्रभावित बनेका छन्।

यस अवधिमा भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ। ढुङ्गा पल्टिँदा दुई जनाको ज्यान गएको छ भने वन डढेलो, हिउँपहिरो, विस्फोटन तथा अन्य घटनाबाट पनि एक–एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। असिना र भूकम्पबाट मानवीय क्षति नभए पनि क्रमशः एक र तीन परिवार प्रभावित भएका छन्।

पछिल्लो २४ घण्टामा ३४ विपद्का घटना

प्राधिकरणका अनुसार साउन १७ गते बिहान १० बजेसम्मको पछिल्लो २४ घण्टामा देशका विभिन्न २५ स्थानमा ३४ वटा विपद्का घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु र २० जना घाइते भएका छन्।

यस अवधिमा आठ जिल्लामा सर्पदंशका १४ वटा घटना हुँदा एक जनाको मृत्यु र १३ जना घाइते भएका छन्। उद्धार तथा सुरक्षाका लागि ५० जना प्रहरी परिचालन गरिएको थियो। १० जिल्लामा भएका ११ वटा आगलागीका घटनामा पाँच जना घाइते भएका छन्। आगो नियन्त्रण तथा उद्धारका लागि एक सय ८४ जना प्रहरी खटिएका थिए।

चार जिल्लामा भएका छ वटा पहिरोका घटनामा एक जना घाइते भएका छन्। उद्धार र अवरुद्ध सडक खुलाउन १३ जना प्रहरी परिचालन गरिएको थियो। त्यस्तै, तीन जिल्लामा जनावरको आक्रमणका तीन वटा घटना हुँदा एक जना घाइते भएका छन्। ती घटनामा २४ जना प्रहरी खटिएका थिए।

पछिल्लो २४ घण्टामा विपद् उद्धार तथा सुरक्षाका लागि कुल दुई सय ७१ जना नेपाल प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। विपद्का घटनाबाट पछिल्लो २४ घण्टामा अनुमानित २७ लाख २५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। साथै, १८ वटा चौपाया मरेका छन् भने दुई स्थानमा सडक अवरुद्ध भएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार