मलंगवा – सर्लाही प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लको लालबन्दी नगरपालिका – १ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले १ सय ९ केजी गाँजा बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज ( सोमबार ) बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा बीआर ०९ एम ३७६६ नम्बरको कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकाबाट करिब १ सय ९ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।
गाँजा बरामद भएपछि कार चालक भारतको सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र कारमा सवार सोही स्थानका २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको छ।
प्रहरीले गाँजा, कार तथा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाएको जनाएको छ।





