ग्रीसमा डढेलो निभाउने क्रममा दुई हेलिकोप्टर ठोक्किए, दुई जनाको मृत्यु

२०८३ श्रावण १८, सोमबार ०९:०१

काठमाण्डौ – ग्रीसमा डढेलो नियन्त्रण अभियानमा खटिएका दुई हेलिकोप्टर आकाशमै आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

दुर्घटनामा डेनमार्कका एक हेलिकोप्टर चालक र ग्रीसको अग्नि नियन्त्रण सेवामा कार्यरत एक सम्पर्क अधिकृतको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अर्को हेलिकोप्टरमा रहेका बेलायती चालक र ग्रीक समन्वय अधिकारी भने सामान्य घाइते अवस्थामा उद्धार भएका छन्।

राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा आइतबार डढेलो नियन्त्रणका क्रममा उक्त दुर्घटना भएको हो। अग्नि नियन्त्रण सेवाका अनुसार उडानकै क्रममा एक हेलिकोप्टर अर्कोको पंखासँग ठोक्किएपछि आगलागी भएको थियो।

ठक्करपछि एउटा हेलिकोप्टर नजिकैको भीरमा खसेको थियो भने अर्को हेलिकोप्टरले आपत्कालीन अवतरण गरेको बताइएको छ। दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार