सर्लाही – काठमाडौँबाट ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै सशस्त्र प्रहरीले सर्लाहीका एकसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले काठमाडौँको नक्साल क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका – ८ का सुजन रायमाझी, काठमाडौँ महानगरपालिका – १ नागपोखरीका प्रभात तिवारी तथा काठमाडौँ महानगरपालिका–१४ बल्खुका भुपेन्द्र श्रेष्ठ रहेका छन्।

उनीहरूको साथबाट २८९ दशमलव ३५ ग्राम ब्राउन सुगर, टामाडोलका २२ पत्ता अर्थात् २२० क्याप्सुल, नाइटोभेटका १३० क्याप्सुल, लागुऔषध तौलने तराजु तथा लागुऔषधमा मिसाउन प्रयोग हुने २९ बोतल तरल रसायन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै, बा ७ च ५१८० नम्बरको होन्डा गाडी, चार थान मोबाइल, एक थान प्रिन्टर, तीन थान ल्यापटप, दुई थान सञ्चार सेट तथा एक लाख ९८ हजार ३७५ रुपैयाँ नगद पनि बरामद भएको छ।
बरामद सामग्रीमा ३३ अमेरिकी डलर, २० भारतीय रुपैयाँ र एक हजार जापानी येनसमेत रहेको जनाइएको छ।
नागपोखरी क्षेत्रमा लागुऔषधको ओसारपसार तथा बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक सुवर्ण थापा र इन्स्पेक्टर रविन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामाथि बाघभैरव नम्बर १८ गणमार्फत आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।





