सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको बन्दीपुरस्थित सव–डिभिजन वन कार्यालयका प्रमुख राम केवल राय यादवविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार काष्ठ उद्योगका लागि ल्याइएको काठको सिलबन्दीअनुसार भए वा नभएको जाँच गरी आवश्यक कागजातसहित फाइल फिर्ता गर्ने क्रममा यादवले सेवाग्राहीसँग घुस रकम मागेका थिए। घुस मागिएको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले यादवलाई १२ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।

अनुसन्धानका क्रममा काष्ठ उद्योगमा ल्याइएका काठ बोकेका ट्रकको सिल खोलेको मुचुल्का तयार गर्ने प्रक्रियामा यादवले विभिन्न बहाना बनाउँदै सेवाग्राहीलाई अनावश्यक दुःख दिएको र रकम माग गरेको पुष्टि भएको आयोगले जनाएको छ।
यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको अख्तियारले जनाएको छ। आयोगले १२ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना तथा कानुनबमोजिम कैद सजायको मागदाबीसहित यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।





