सर्लाहीमा स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुई जना पक्राउ

२०८३ श्रावण २०, बुधबार ०८:३९

मलंगवा – सर्लाहीमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पर्सा गाउँपालिका – ६ स्थित नेपाल भारत सीमा क्षेत्रबाट भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई शंकाका आधारमा जाँच गर्दा उक्त रकम बरामद भएको हो।

पक्राउ पर्नेमा पर्सा गाउँपालिका – ६ निवासी २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ निवासी ४६ वर्षीय साजन मुखिया रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) संग्रामपुरको टोलीले उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका १ हजार ३ सय थान नोट बरामद गरेको हो।

बरामद रकमको स्रोत खुलाउन नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई बरामद १३ लाख रुपैयाँसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार