सर्लाही – जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर नजिक रहेको तेल्हा पोखरीमा डुबेर एक भारतीय दर्शनार्थीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भारतको बिहार राज्यअन्तर्गत हाजीपुर निवासी २० वर्षीय आदर्शकुमार झा साथीहरूसँग जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आएका थिए। गए राति उनी अचानक तेल्हा पोखरीमा डुबेका थिए।

पोखरीमा हामफालेपछि स्थानीय युवाहरूले तत्काल उनको उद्धार गरी उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याएका थिए। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।





