सिरहामा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

२०८३ श्रावण २०, बुधबार ०९:४२
साङ्केतिक तस्बिर

सर्लाही – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका – ६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीन युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लहान नगरपालिका – २२ सलोखरीका १९ वर्षीय सञ्जय दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास तथा लक्ष्मीपुर पतारी गाउँपालिका – ६ का २० वर्षीय साबरजित दास रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार मंगलबार राति करिब १०:३० बजे फुलबारीबाट आउँदै गरेका उनीहरूमाथि शंका लागेपछि प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले चेकजाँच गरेको थियो।

प्रहरी सहायक निरीक्षक प्रदीप मधुवन यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा साबरजित दासको साथबाट एक थान पेस्तोल र एउटा म्याग्जिन बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनैजनालाई प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहान लगिएको एसपी पाठकले जानकारी दिए। बरामद हतियारको स्रोत, त्यसको प्रयोग गर्ने उद्देश्य तथा उनीहरूको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

घटनासँग जोडिएका अन्य पक्षको पनि अनुसन्धान भइरहेको र अनुसन्धानबाट प्राप्त प्रमाण तथा निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार