पारिश्रमिक भुक्तानी गराइदिने नाममा घुस लिएको आरोपमा पशु सेवा केन्द्रका प्रमुखसहित दुई जनाविरुद्ध मुद्दा

२०८३ श्रावण २०, बुधबार २०:३४

सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पशु खोप कार्यक्रम सञ्चालन गरेका भ्याक्सिनेटरहरूको पारिश्रमिक भुक्तानी गराइदिने क्रममा २० प्रतिशत रकम कमिसनका रूपमा मागिएको उजुरीपछि अख्तियारको इटहरीस्थित टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। आयोगका अनुसार दुवै जनालाई १ लाख ३२ हजार ३५० रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको थियो।

अनुसन्धानका क्रममा कार्यालय प्रमुख डा. दासले चालक यादवसँग मिलेमतो गरी भ्याक्सिनेटरहरूलाई कानुनअनुसार पाउनुपर्ने पारिश्रमिक उपलब्ध गराइदिने नाममा कम्तीमा २० प्रतिशत रकम घुस दिन बाध्य बनाएको पुष्टि भएको आयोगले जनाएको छ।

उनीहरूले १ लाख ३२ हजार ३५० रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उक्त कार्य कसुर ठहर गर्दै आयोगले दुवै जनाविरुद्ध बिगो बराबरको जरिवाना र कैद सजायको माग गरेको छ। अख्तियारले बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार