मल तस्करीको आरोपमा भारतीय जेलमा रहेका सर्लाहीका दुई दाजुभाइ धरौटीमा रिहा

२०८३ श्रावण २०, बुधबार २१:२४

लालबन्दी – रासायनिक मल तस्करीको आरोपमा एक महिनाभन्दा बढी समयदेखि भारतको जेलमा रहेका सर्लाहीका दुई दाजुभाइ धरौटीमा रिहा भएका छन्।

भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्ला अदालतले सर्लाहीको बलरा नगरपालिका – ५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र उनका ६० वर्षीय दाजु नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो।

डुमरा जिल्ला अदालतका सहयोगी विशेष न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले बुधबार दुवै जनालाई धरौटीमा रिहा गर्ने फैसला गरेको बताइएको छ। गत जुलाई १ मा भारतको सीमावर्ती सहर सोनवर्षाबाट दुई बोरा युरिया र छ बोरा डीएपी मल लिएर नेपाल फर्किंदै गर्दा उनीहरू पक्राउ परेका थिए।

भारतको सशस्त्र सीमा बल (एसएसबी) र कृषि विभागको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका दाजुभाइले उक्त मल तस्करीका लागि नभई आफ्नै खेतमा प्रयोग गर्न ल्याएको दाबी गर्दै आएका थिए।

पक्राउ परेपछि उनीहरूलाई भारतमै हिरासतमा राखिएको थियो। अदालतको आदेशपछि एक महिनाभन्दा बढी समय भारतीय जेलमा बिताएका दुवै दाजुभाइ धरौटीमा रिहा भएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार