रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर दुर्घटनापछि आगलागी

२०८३ श्रावण २१, बिहीबार ०९:२८

सर्लाही – रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर दुर्घटनाग्रस्त भई आगलागी हुँदा सवारी साधन पूर्ण रूपमा जलेर नष्ट भएको छ।

बिहीबार बिहान करिब ६ बजेतिर अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१–ख ७८११ नम्बरको पेट्रोल ट्यांकर सडकमा आएको मृगलाई जोगाउने क्रममा अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको थियो। पल्टिएलगत्तै ट्यांकरमा आगलागी भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस निजगढ, बाराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मुरारी अधिकारीको कमाण्डमा दमकलसहित १५ जना र सशस्त्र प्रहरी सुरक्षा बेस सन्तपुर, रौतहटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जिसीको नेतृत्वमा चन्द्रपुर नगरपालिकाको दमकलसहित १० जनाको टोली घटनास्थल पुगेको थियो।

त्यसैगरी, इलाका प्रहरी कार्यालय चपुरबाट प्रहरी नायब निरीक्षक भरत साहको कमाण्डमा १० जना प्रहरी परिचालन गरिएको थियो। जितपुर–सिमरा उपमहानगरपालिका र कोल्हवी नगरपालिकाका दमकलसहित जम्मा चार वटा दमकलको सहयोगमा बिहान ७ः१५ बजेसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको राहतको विषय रहेको छ। तर, पेट्रोल बोकेको ट्यांकर भने पूर्ण रूपमा जलेर नष्ट भएको छ। ट्यांकर चालक बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका – ११ निवासी अन्दाजी २५ वर्षीय समीर गुरुङ जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरको नियन्त्रणमा रहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार