सर्लाही – महोत्तरीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बर्दिबास नगरपालिका – ५ निवासी ६२ वर्षीय टङ्कबहादुर बस्नेतको गढन्ता खोलाको बाढीमा बगेर ज्यान गएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार बस्नेत खेतमा पानी तान्न प्रयोग गरिएको विद्युतीय मोटर खोलाको भेलले बगाउन थालेपछि त्यसलाई निकाल्न खोलातर्फ गएका थिए। बुधबार साँझ अचानक खोलामा आएको बाढीले उनलाई बगाएपछि उनी बेपत्ता भएका थिए।

घटनालगत्तै स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको तथा घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको जनाएको छ। वर्षायाममा खोलानाला तथा बाढी प्रभावित क्षेत्रमा अनावश्यक जोखिम नलिन जिल्ला प्रशासन र प्रहरीले सर्वसाधारणलाई आग्रह गरेका छन्।





