सर्लाही – मधेश प्रदेश सरकारले प्रदेशभरका २४ वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्ने योजना कार्यान्वयनमा ल्याएको छ। बहुवर्षीय कार्यक्रमअन्तर्गत प्रत्येक जिल्लाबाट तीन तीन वटा विद्यालय छनोट गरी चालु आर्थिक वर्षदेखि पूर्वाधार तथा शैक्षिक सुधारका काम अघि बढाइने भएको हो।
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयका अनुसार प्रदेश सरकारले नमूना विद्यालय कार्यक्रमलाई प्राथमिकतामा राख्दै यस आर्थिक वर्षदेखि कार्यान्वयन सुरु गरेको छ। मन्त्रालयका अनुसार प्रत्येक विद्यालयका लागि करिब डेढ करोड रुपैयाँका दरले कुल ३२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न छनोट भएका २४ वटै विद्यालयका प्रधानाध्यापकलाई मन्त्रालयमा बोलाएर आवश्यक निर्देशन दिइसकेको बताईएको छ। प्रदेश सरकारले विद्यालयका लागि आवश्यक भौतिक पूर्वाधार, शैक्षिक सामग्री र जनशक्ति उपलब्ध गराउन तयार रहेको छ।
मधेश प्रदेशमा हाल ३ हजार ४८४ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। आगामी वर्षहरूमा प्रदेश सरकारले सबै सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न चरणबद्ध रूपमा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको छ।





