सर्लाही – सिराहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। नियमित गस्तीका क्रममा प्रहरीले करिब ५३ किलोभन्दा बढी गाँजा जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बिहीबार राति करिब ११:५० बजे सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित सिमराको बलान खोलानजिक इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि निगरानी बढाएको थियो।

सोही क्रममा टाउकोमा चार वटा प्लास्टिकका बोरा बोकेर हिँडिरहेका चार जना व्यक्तिले प्रहरी टोली देख्नासाथ बोरा त्यहीँ छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएका थिए।
प्रहरीले घटनास्थलबाट बरामद गरिएका चारवटै बोरालाई नियन्त्रणमा लिएर परीक्षण गर्दा गाँजा जस्तो देखिने पदार्थ फेला परेको जनाएको छ। कार्यालयमा ल्याई तौल गर्दा उक्त पदार्थको कुल तौल ५३ किलो ४६५ ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। बरामद गरिएको पदार्थको थप परीक्षण तथा घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।





