मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिका – ५ नरेशखोरमा बाँदरको टोकाइबाट चार वर्षीय बालक घाइते भएका छन्।
बिहिबार स्थानीय प्रमोद रामका चार वर्षीय छोरा अनिश राम आफ्नै घरमा सुतिरहेको अवस्थामा एक्कासी घरमा पसेको बाँदरले अनुहारमा टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ। बाँदरको आक्रमणबाट बालकको अनुहारमा चोट लागेको हो।

घाइते बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेटौँडा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बालकको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ। घटनाबारे उनकी आमाले शुक्रबार साँझ करिब ५:२० बजे इलाका प्रहरी चौकी फुलजोरमा टेलिफोनमार्फत जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरीले घटनाको अभिलेखीकरण गरी आवश्यक विवरण संकलन गरेको जनाएको छ।





