सर्लाही – सिरहाको गोलबजारमा गोली लागेर ज्यान गुमाएका किशोर गणेश यादवको परिवारका लागि मधेस प्रदेश सरकारले नयाँ आवास निर्माण गरिदिने निर्णय गरेको छ। प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत पीडित परिवारलाई दुई कोठे पक्की घर, भान्सा र शौचालय निर्माण गरिने भएको हो।
यस सम्बन्धमा शुक्रबार मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच औपचारिक सहमति भएको छ। सहमतिपत्रमा मृतकका पिता रामवृक्ष यादव, पूर्वाधार विकास कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका – २ का वडाध्यक्ष रामअयोध्या यादव तथा स्थानीय समाजसेवी र समुदायका अगुवाहरूको समेत उपस्थिति रहेको थियो।

घटनापछि पीडित परिवारलाई भेटेका मन्त्री सिंहले परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको देखेपछि प्रदेश सरकारको बैठकमा आवास निर्माणको प्रस्ताव पेश गरेका थिए। सोही प्रस्तावअनुसार सरकारले परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो।
मन्त्री सिंहका अनुसार परिवारले आवश्यक जग्गा उपलब्ध गराउनेबित्तिकै निर्माण कार्य सुरु हुनेछ। यस योजनाका लागि प्रदेश सरकारले आवश्यक बजेटसमेत सुनिश्चित गरिसकेको छ।
पूर्वाधार विकास कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादवका अनुसार मृतकका पिता रामवृक्ष यादवको परिवारका लागि रंगरोगनसहित दुई कोठे भवन, भान्सा र शौचालय निर्माण गर्न ५ लाख ४६ हजार रुपैयाँ बजेट छुट्याइएको छ। निर्माण कार्य चालु आर्थिक वर्ष २०८३/८४ भित्रै सम्पन्न गर्ने लक्ष्य प्रदेश सरकारले लिएको जनाएको छ।





