सर्लाही – सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट अचानक गोली चल्दा एक जनाको मृत्यु भएको छ। घटनापछि प्रहरीलेसँगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको छ।
कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा गोली चलेको हो। कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी करिब ६२ वर्षीय टोपबहादुर पुन मगर साथीहरूसँग शिकार खेल्न जंगल पुगेका थिए।

शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट अचानक गोली चलेपछि पुन मगरको पेटको तल्लो भाग र कम्मरमा गोली लागेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले मृतकसँगै शिकार खेल्न गएका ६ जनालाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी रहेका छन्। यस्तै, कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर पनि पक्राउ परेका छन्।
घटनामा प्रयोग भएको भरुवा बन्दुक तथा गोली चलेको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





