झारफुकको नाममा बालिकालाई कुटपिट गर्ने एक जना पुरुष पक्राउ

२०८३ श्रावण २३, शनिबार १०:२२
साङ्केतिक तस्बिर

जाजरकोट – जाजरकोटमा झारफुक गर्ने भन्दै १४ वर्षीया बालिकामाथि कुटपिट गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बारेकोट गाउँपालिका – ६ धुमाका ५९ वर्षीय हिरालाल चलाउने रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गत असार ५ गते दिउँसो करिब १ बजे सार्वजनिक सडकमा चलाउनेले झारफुक गर्ने भन्दै बालिकालाई हात र मुक्काले कुटपिट गरेका थिए।

बालिकामाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै आरोपितको खोजी थालेको थियो। सोही क्रममा प्रहरीले चलाउनेलाई गत बिहिबार अपरान्ह बारेकोट गाउँपालिका – ६ बाट पक्राउ गरेको हो।

पक्राउ परेका चलाउनेलाई प्रहरीले सोही दिन जाजरकोट जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार