मधेसमा ९५ प्रतिशत रोपाइँ

२०८३ श्रावण २३, शनिबार ११:१०
फाईल तस्बिर

सर्लाही – मधेस प्रदेशमा यस वर्ष धान रोपाइँको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर करिब ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।

प्रदेशका आठ जिल्लामध्ये सिरहा र बारामा धान रोपाइँ शतप्रतिशत सकिएको छ। सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ।

बारामा भने लक्ष्यभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ। यस वर्ष ४५ हजार १०० हेक्टरमा धान रोप्ने लक्ष्य राखिएकोमा ४६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।

त्यस्तै, सप्तरीमा ९१ दशमलव २५ प्रतिशत र धनुषामा ९० प्रतिशत रोपाइँ सकिएको छ। धनुषामा ४३ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती गर्ने लक्ष्य रहेकामा हालसम्म ३९ हजार ३३० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

अन्य जिल्लातर्फ सर्लाहीमा ९९ प्रतिशत, रौतहटमा ९८ प्रतिशत, पर्सामा ९१ प्रतिशत र महोत्तरीमा ८१ दशमलव ६८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ।

मधेस प्रदेशमा यस वर्ष कुल ३ लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको छ। हालसम्म प्रदेशभर ३ लाख ६५ हजार २९१ दशमलव १५ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको निर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार