रामनगर – रामनगर गाउँपालिका–३ मा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ। भवनको उद्घाटन रामनगर गाउँपालिका – ३ का वडा अध्यक्ष अजय यादवले गर्नुभएको हो।
स्थानीय बासिन्दालाई गाउँमै सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको स्वास्थ्य सेवा केन्द्रको भवन सञ्चालनमा आएपछि वडा क्षेत्रका नागरिकलाई सामान्य उपचार तथा स्वास्थ्य जाँचका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

भवन उद्घाटन कार्यक्रममा वडा अध्यक्ष यादवले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको बताउँदै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले स्वास्थ्य केन्द्रलाई आवश्यक जनशक्ति, औषधि तथा उपकरणको व्यवस्थासहित प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने बताउनुभयो।
नवनिर्मित स्वास्थ्य सेवा केन्द्रबाट वडा नं. ३ तथा आसपासका बासिन्दाले नियमित स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, औषधि वितरणलगायतका आधारभूत स्वास्थ्य सेवा सहज रूपमा पाउने अपेक्षा गरिएको छ।
स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भई उद्घाटन भएसँगै स्थानीयवासीले आफ्नै गाउँमा स्वास्थ्य सेवाको सुविधा विस्तार भएको भन्दै खुसी व्यक्त गरेका छन्। केन्द्र पूर्ण रूपमा प्रभावकारी सञ्चालनमा आएपछि सामान्य स्वास्थ्य समस्याका लागि अन्य स्थानमा धाउनुपर्ने अवस्थासमेत कम हुने विश्वास गरिएको छ।





