सर्लाहीमा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम कारोबार गर्ने एक जना पक्राउ

२०८३ श्रावण २५, सोमबार १८:१७
File image

मलंगवा – प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई हिरासतबाट छुटाइदिने भन्दै रकमको कारोबार गर्ने एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विष्णु गाउँपालिका – ४ का ४० वर्षीय बेचन भन्ने अवधेश चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई गत हप्ताको बुधबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार चौधरीले आफू प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाउन सक्ने भन्दै रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले विष्णु गाउँपालिका – ४ का राजेन्द्र रायसँग मिलेर प्रहरी कर्मचारीलाई प्रभावित पार्दै मानिस छुटाउन रकम लिएको आरोप छ।

चौधरी पक्राउ परेपछि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा संलग्न भनिएका राजेन्द्र राय भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी सेवाअन्तर्गत प्रदान गरिने सबै किसिमका सेवा निःशुल्क हुने भन्दै प्रहरीको नाममा रकम माग्ने वा लिने व्यक्तिबाट सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार