मलंगवा – चर्को आवाजमा ‘डिजे’ बजाएर ध्वनि प्रदूषण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय सर्लाही तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अत्यधिक ध्वनि निकाल्ने गरी डिजे तथा साउण्ड सिस्टम सञ्चालन नगर्न आग्रह गरिँदै आएको छ।
सोही क्रममा नियमविपरीत डिजे बजाइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आइतबार मलंगवा नगरपालिका – ९ गोरखकालीबाट डिजे जडित गाडीसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा हरिपुर नगरपालिका वडा नम्बर १ निवासी ५५ वर्षीय जागेश्वर पण्डित र बागमती नगरपालिका – ४ निवासी २३ वर्षीय जगन्नाथ साह रहेका छन्। उनीहरूको साथबाट डिजे तथा विभिन्न साउण्ड सिस्टम जडित ना.१९ च ४२९१ नम्बरको टाटा गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।





