सर्लाही – मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा फरार रहेका धनुषाका एक प्रतिवादीलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको छ।
धनुषाको धनौजी गाउँपालिका – ५ ठेगाना भएका मो. ताहिर राईनलाई इन्टरपोलबाट जारी रेड नोटिसका आधारमा कतारमा पक्राउ गरिएको हो।

नेपाल प्रहरीको राष्ट्रिय केन्द्रीय ब्युरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले गत साउन १२ गते राईनविरुद्ध रेड नोटिस जारी गरेको थियो। त्यसपछि उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजी तथा पक्राउ गर्न प्रक्रिया अघि बढाइएको थियो।
एनसिबी कतार दोहासँगको समन्वयमा कतारमा पक्राउ परेका राईनलाई सम्बन्धित मुद्दामा कानुनी कारबाहीका लागि सोमबार बिहान नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
नेपाल ल्याइएका राईनलाई आवश्यक कानुनी कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको नेपाल प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ।





