मलंगवा – सर्लाहीको लालबन्दीबाट प्रहरीले १२ किलोभन्दा बढी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका – १२ जियाजोरस्थित सार्वजनिक सडकमा शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूमाथि चेकजाँच गर्ने क्रममा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा हरिवन नगरपालिका – २ का ४८ वर्षीय सानु न्याउके दमाई, उनकी ३५ वर्षीया श्रीमती सविना परियार र लालबन्दी नगरपालिका–१४ की ५६ वर्षीया ज्ञानमाया योञ्जन रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बोकेको जेब्रा झोलाभित्र लुकाएर ल्याइएको तीनवटा पोकाबाट १२ किलो ८२४ ग्राम गाँजा बरामद भएको हो। गाँजासहित पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। सर्लाहीमा पछिल्लो समय लागुऔषधको ओसारपसार तथा कारोबार नियन्त्रण गर्न प्रहरीले विभिन्न स्थानमा निगरानी र चेकजाँचलाई कडाइ गरेको जनाएको छ।





