सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

२०८३ श्रावण २७, बुधबार १८:०९

मलंगवा – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका – १२ बस्ने ५७ वर्षीय जगन्नाथ महतो कोईरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार भारतबाट सर्लाहीको बयलबासतर्फ स्कुटरमा हुण्डी कारोबारको रकम ल्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले ब्रह्मपुरी गाउँपालिका – २ स्थित राजदेवी मन्दिर अगाडिबाट उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनि सवार ज.१० प ८६५२ नम्बरको स्कुटर रोकी जाँच गर्ने क्रममा उनले बोकेको कालो झोलाभित्र लुकाइछिपाई राखेको स्रोत नखुलेको नेपाली रकम फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार बरामद रकममा १ हजार रुपैयाँ दरका ३ हजार ५ सय थान नोट, ५ सय रुपैयाँ दरका ३ हजार १ सय ८ थान नोट, १ सय रुपैयाँ दरका ७ सय थान नोट र ५० रुपैयाँ दरका २ सय थान नोट रहेका छन्। बरामद रकमको कुल मूल्य ५१ लाख ३४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

रकमसँगै प्रहरीले उनको साथबाट ज.१० प ८६५२ नम्बरको स्कुटर र रेड्मी कम्पनीको एक थान मोबाइलसमेत नियन्त्रणमा लिएको छ। प्रहरीले बरामद रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको आशंका गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार