सर्लाहीमा शिक्षकको हाजिरी र अभिलेख किर्ते, प्रधानाध्यापकसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ श्रावण २७, बुधबार १८:४४

सर्लाही – सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका शिक्षकको हाजिरी तथा बिदा अभिलेखमा हेरफेर गरी सरकारी रकम निकासा गरेको आरोपमा प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षिका प्रियंका कुमारी सिंहविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार अनुसन्धानका क्रममा शिक्षिका सिंह २०७९ साल वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा अनुपस्थित रहेको पाइएको थियो। तर तत्कालीन प्रधानाध्यापक यादवले अनुपस्थित शिक्षकलाई शिक्षा ऐनअनुसार कारबाही गर्नुको सट्टा हाजिरी रजिस्टरमा पछि एकमुष्ट हाजिरी गराएको आरोप छ।

यादवले हाजिरी रजिस्टरमा गरिएको विवरण मेटाउने सामग्री प्रयोग गरी पुनः हाजिरी गराएको र अनुपस्थित अवधिको हाजिरी विवरणसमेत मलंगवा नगरपालिकामा पेस गरी तलब निकासाका लागि माग गरेको अख्तियारको अनुसन्धानबाट खुलेको जनाएको छ।

यसरी अनुपस्थित अवधिको तलबसमेत निकासा हुँदा सरकारी रकममा हानिनोक्सानी भएको आयोगको दाबी छ। अनुसन्धानअनुसार विभिन्न अवधिमा गरी शिक्षिका सिंहका नाममा जम्मा ३ लाख ७१ हजार ३६ रुपैयाँ गैरकानुनी रूपमा निकासा तथा भुक्तानी भएको पाइएको छ।

सरकारी कागजातमा हेरफेर गरी सरकारी रकम हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरेको आरोपमा अख्तियारले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र १७ बमोजिम कारबाहीको मागदाबी गरेको छ।

आयोगले प्रतिवादी दुवैबाट बिगो असुलउपर गरी कानुनबमोजिम सजाय हुनुपर्ने मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार