नेपालमा साइबर अपराध बढ्दै : एक वर्षमा २० हजारभन्दा बढी उजुरी, १ सय ५५ जना पक्राउ

२०८३ श्रावण २८, बिहीबार २०:२४

सर्लाही – सामाजिक सञ्जाल र डिजिटल प्रविधिको प्रयोग बढेसँगै यसको दुरुपयोगबाट हुने साइबर अपराधका घटना पनि बढ्दै गएका छन्। सामाजिक सञ्जालमार्फत चरित्र हत्या, ठगी, ब्ल्याकमेलिङदेखि अनलाइन स्क्यामिङसम्मका घटनामा संलग्न व्यक्तिमाथि नेपाल प्रहरीले कारबाही अघि बढाउँदै आएको छ।

काठमाडौंको कपन बस्दै आएका नुवाकोटका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल इमेलमार्फत अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गरेको आरोपमा असार २६ गते पक्राउ परेका थिए। त्यस्तै, काठमाडौं बालाजु बस्ने नुवाकोटका १९ वर्षीय विवेक सुनार सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्‍याएर ठगी गरेको आरोपमा असार २४ गते पक्राउ परे। यसैगरी, आफूलाई ई–सेवाको कर्मचारी भन्दै ठगी गरेको आरोपमा रौतहटका २२ वर्षीय शुभम साह असार २ गते पक्राउ परेका थिए।

सुरेन्द्र, विवेक र शुभम साइबर अपराधमा संलग्न हुनेहरूका प्रतिनिधि पात्र मात्र हुन्। सामाजिक सञ्जालको दुरुपयोग गरी ब्ल्याकमेलिङ गर्ने, ठगी तथा अनलाइन स्क्यामिङ गर्ने, सफ्टवेयर कम्पनीको स्रोत संकेत (सोर्स कोड) मा अनधिकृत पहुँच पुर्‍याउनेलगायतका विद्युतीय कसुरमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीको साइबर ब्यूरो सक्रिय छ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मात्रै साइबर अपराधसम्बन्धी २० हजार ५ सय २६ वटा निवेदन दर्ता भएका छन्। सो अवधिमा साइबर अपराधसम्बन्धी १ सय ६१ वटा मुद्दा दर्ता भएका थिए भने १ सय ५५ जना पक्राउ परेका थिए।

दर्ता भएका निवेदनमध्ये सबैभन्दा धेरै फेसबुक तथा म्यासेन्जरको दुरुपयोगसँग सम्बन्धित छन्। फेसबुक/म्यासेन्जरसम्बन्धी ७ हजार १ सय २३, टिकटकका ६ हजार ७ सय ७६, ह्वाट्सएपका ३ हजार १ सय ५, टेलिग्रामका १ हजार ३१, इन्स्टाग्रामका ६ सय २८ र इमेलका १ सय १४ वटा निवेदन दर्ता भएका छन्।

त्यस्तै, भाइबरका २१, इमोका ३८, युट्युबका ६४, वीच्याटका १४, ट्वीटरका ११ र गुगलसँग सम्बन्धित ११ वटा निवेदन प्रहरीमा परेको तथ्यांक छ। ई सेवा, खल्ती, बैंक खाता तथा एसएमएससँग सम्बन्धित ७ सय ४४ वटा र विभिन्न संस्थासँग सम्बन्धित ८ सय ४६ वटा निवेदन पनि दर्ता भएका छन्।

साइबर अपराधसम्बन्धी उजुरीको संख्या पछिल्ला वर्षहरूमा पनि उच्च देखिन्छ। आर्थिक वर्ष २०८१/०८२ मा १८ हजार ९ सय २६ वटा र आर्थिक वर्ष २०८०/०८१ मा १९ हजार ७ सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका थिए।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार सामाजिक सञ्जालको प्रयोगसँगै यसको दुरुपयोग पनि बढिरहेको छ। पछिल्ला दुई आर्थिक वर्षको उजुरीको प्रवृत्ति हेर्दा बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको बहाना बनाउने, गिफ्ट, लट्री वा पार्सल आएको भन्दै रकम असुल्ने, प्रेम सम्बन्धमा पारेर ठगी गर्ने तथा वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने घटना बढिरहेका छन्।

त्यस्तै, टेलिग्राम, ह्वाट्सएप र इन्स्टाग्राममार्फत अनलाइन जागिरको प्रलोभन देखाउने, अनलाइन सपिङका नाममा ठगी गर्ने लगायतका प्रवृत्तिसमेत बढ्दै गएको प्रहरीको भनाइ छ। प्रविधिको तीव्र विकाससँगै साइबर अपराधीहरूले समेत अपराध गर्ने नयाँ नयाँ शैली अपनाउन थालेका छन्। यसले अपराध अनुसन्धानलाई थप चुनौतीपूर्ण बनाउँदै लगेको छ।

यस्ता चुनौतीको सामना गर्दै प्रविधिको प्रयोगबाट हुन सक्ने अपराधको रोकथाम तथा प्रभावकारी अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयअनुसार साइबर ब्यूरो स्थापना गरिएको हो।

साइबर ब्यूरोलाई थप प्रविधियुक्त बनाउँदै प्रहरी कर्मचारीको साइबर अपराध तथा साइबर सुरक्षासम्बन्धी क्षमता अभिवृद्धि गर्ने र आम नागरिकमा साइबर सुरक्षा सचेतना फैलाउने कामसमेत हुँदै आएको प्रहरीले जनाएको छ।

नेपालमा साइबर अपराधमा संलग्न व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही हुने गरेको छ। प्रहरीले डिजिटल माध्यम प्रयोग गर्दा अपरिचित व्यक्तिले पठाएका लिंक, सन्देश वा प्रस्तावमा विश्वास नगर्न तथा बैंक खाता, पासवर्ड, ओटीपी र अन्य संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन आग्रह गर्दै आएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार