सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राज्य सञ्चालनको तौरतरिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सिंहले सार्वजनिक संस्था तथा सरकारी निकायमा राजनीतिक हस्तक्षेप बढेको आरोप लगाएका छन् । उनले सेना, प्रहरी र कर्मचारीमाथि राज्यबाटै दबाब र अपमानजनक व्यवहार भइरहेको भन्दै त्यसले संस्थागत संरचनामाथि असर पार्न सक्ने बताएका छन् ।

सिंहले संसद्मा सांसदहरूले गर्ने अभिव्यक्तिप्रति समेत प्रश्न उठाएका छन् । सांसदहरूको गैरजिम्मेवार अभिव्यक्तिले संसद्को गरिमा र प्रतिष्ठामै असर पुगिरहेको उनको टिप्पणी छ । यस्तै, व्यापारी तथा निजी क्षेत्रमाथि भइरहेको धरपकडले व्यवसायीहरूमा त्रास सिर्जना भएको उनले बताएका छन् । सरकारको यस्तो कार्यशैलीले निजी क्षेत्रको मनोबल कमजोर पार्ने उनको संकेत छ ।
परराष्ट्र नीतिप्रति समेत असन्तुष्टि जनाउँदै सिंहले सरकारको समग्र कार्यदिशामाथि पुनर्विचार आवश्यक रहेको बताएका छन् । उनले अन्ततः सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ?’





