सर्लाही – रौतहटबाट बोलबम यात्राका लागि भारतको बाबाधाम गएका तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा तीन नेपालीको मृत्यु भएको छ।
गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार भारत गएका तीर्थयात्री चढेको ना ६ ख १५५४ नम्बरको बस शुक्रबार बिहान करिब ३ बजे झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको हो।

दुर्घटनामा गरुडा–६ पोठियाहीका ६० वर्षीय नवलकिशोर जयसवाल, उनकी श्रीमती सुन्दर बाला देवी र १० वर्षीय शिवम महतोको मृत्यु भएको स्थानीयले बताएका छन्। दुर्घटनाको खबर पाएपछि मृतक तथा घाइतेका आफन्तहरू चारवटा सवारीसाधन रिजर्भ गरेर शुक्रबार बिहानै घटनास्थलतर्फ भारत गएका छन्।
प्रारम्भिक विवरणअनुसार बसमा करिब ४५ जना बोलबम तीर्थयात्री सवार थिए। बासुकीनाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा सतगावाँ क्षेत्रमा बस दुर्घटनामा परेको बताइएको छ।
ट्रकको भारतीय नम्बर खुल्न सकेको छैन। ट्रकसँग ठोक्किएपछि बसको अगाडिको भागमा ठूलो क्षति पुगेको छ। दुर्घटनापछि सतगावाँ प्रहरीले घटनास्थलमा पुगेर घाइते तीर्थयात्रीको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सतगावाँ थाना प्रमुख बब्लु सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने आशंका गरिएको छ। यद्यपि दुर्घटनाको यकिन कारण भने खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु तथा घाइते हुने अधिकांश तीर्थयात्री पोठियाहीकै रहेको बताइएको छ। घटनाको खबर फैलिएसँगै पोठियाही गाउँ शोकमा डुबेको छ। मृतकका परिवार तथा आफन्तहरू घटनास्थल पुगेर शव तथा घाइतेको अवस्थाबारे जानकारी लिइरहेका छन्।
मृतक नेपाली नागरिकको शव यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाउन स्थानीयले माग गरेका छन्। दुर्घटनामा कति जना घाइते भएका छन् र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन।





