सर्लाही – सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम गाँजा बरामद गरेको हो।
शुक्रबार बिहान करिब ३ः२२ बजे नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३२ एम ३०५७ को मोटरसाइकललाई गस्ती टोलीले शंका लागेर नियन्त्रणमा लिन खोजेको थियो। प्रहरी टोलीलाई देखेपछि मोटरसाइकल चालक भने सवारीसाधन छाडेर फरार भएका थिए।

त्यसपछि प्रहरीले मोटरसाइकलमा राखिएको बोरा जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला पारेको सशस्त्र प्रहरी नम्बर ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सुमनजङ्ग थापाले जानकारी दिएका छन्।
बरामद गरिएको गाँजा र भारतीय नम्बर प्लेटको मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
फरार मोटरसाइकल चालकको खोजी भइरहेको छ भने घटनामा गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





