बस र माइक्रो ठोक्किँदा सर्लाहीका एकसहित दुई जनाको मृत्यु, तीन जना घाइते

२०८३ श्रावण ३०, शनिबार १२:४३
सांकेतिक तस्बिर

सर्लाही – नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस र माइक्रो भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा सर्लाहीका एक जना रहेको प्रहरीले जनाएको छ।

आज बिहान करिब ८:२५ बजे बा.प्र.०८ – १ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकमा पार्किङ गरेर राखिएको बा.प्र.३ – ००१ ज ११७६ नम्बरको खाली ईभी माइक्रो भ्यानलाई ठक्कर दिएको थियो।

बसले ठक्कर दिएपछि माइक्रो भ्यान र बस सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका थिए। दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन्। मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बस्ने करिब ५४ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ बस्ने करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने करिब २५ वर्षीया सुजता पोखरेलसहित तीन जना घाइते भएका छन्।

घाइते हुने अन्यमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० बस्ने करिब ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने करिब ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन्।

घाइते तीनै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार