अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न सर्लाहीका एकसहित सात जना पक्राउ

२०८३ श्रावण ३०, शनिबार २०:४९
साङ्केतिक तस्बिर

सर्लाही – अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा प्रहरीले सर्लाहीका एक जनासहित सात जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका – ३ का ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुरको बागमती गाउँपालिका–५ फापरबारीका २० वर्षीय निशान रूम्बा तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका – ४ का २२ वर्षीय जेनिश चौधरी, ओखलढुंगाको लिखु गाउँपालिका–५ का २४ वर्षीय निमेश कार्की, चितवनको राप्ती नगरपालिका – २ का २४ वर्षीय अमित ओली, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ का २२ वर्षीय प्रदिप पोखरेल र काभ्रेको भुम्लु गाउँपालिका–८ का २३ वर्षीय देवकुमार श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा बस्दै आएका झापा घर भएका एक व्यक्तिलाई अपरिचित ५/६ जनाको समूहले अपहरण गरी बन्धक बनाएको थियो। अपहरणकारीले पीडितलाई कुटपिटसमेत गरी परिवारसँग १८ लाख रुपैयाँ फिरौती रकम माग गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट परिचालित प्रहरीले घटनामा संलग्न सातै जनालाई पक्राउ गरेको हो। प्रहरीले बन्धक बनाइएका पीडितको समेत सकुशल उद्धार गरेको जनाएको छ।

पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालत काठमाडौंले अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार