मिथिलामा सुरु भयो झुलनोत्सव, मठमन्दिरमा गुञ्जिन थाले झुलागीत

२०८३ श्रावण ३१, आईतवार ०८:२७

सर्लाही – मधेसका सर्लाहीसहित समग्र मिथिला क्षेत्रमा झुलनोत्सवको रौनक छाएको छ। साउन शुक्ल तृतीयाका दिनदेखि सुरु भएको यस पर्वसँगै मठमन्दिरमा विष्णु लक्ष्मी भक्ति गीत, भजन तथा झुलागीत गुञ्जिन थालेका छन्।

झुलनोत्सवमा भगवान् विष्णु र माता लक्ष्मीका अवतार मानिने राम सीता तथा राधा कृष्णका प्रतिमालाई आकर्षक झुलामा राखेर भक्तिभावपूर्वक झुलाउने परम्परा छ। साउन पूर्णिमाका दिनसम्म चल्ने यो पर्व मिथिलाको धार्मिक आस्था र मौलिक संस्कृतिसँग जोडिएको महत्वपूर्ण उत्सव मानिन्छ।

पर्व सुरु भएसँगै महोत्तरीका रामजानकी, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर तथा विभिन्न वैष्णव मठमा श्रद्धालुको चहलपहल बढेको छ। साधुसन्तदेखि सर्वसाधारणसम्म भेला भएर भजन कीर्तन गर्दै झुलामा राखिएका देवदेवीका प्रतिमा झुलाउने गरेका छन्।

मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार झुलनोत्सव बालरूपमा रहेका भगवान् र भगवतीलाई झुलाउने धार्मिक परम्पराको प्रतीक हो। उनका अनुसार भगवान् रामलाई माता कौशल्याले र भगवान् कृष्णलाई माता यशोदाले बाल्यकालमा कोक्रामा झुलाएको स्मरणसँग पनि यस पर्वलाई जोडेर हेरिन्छ।

झुलनोत्सव घरघरमा भन्दा मठमन्दिरमा सामूहिक रूपमा मनाउने प्रचलन छ। श्रद्धालुले राम सीता तथा राधा कृष्णका प्रतिमालाई विशेष रूपमा सजाइएको झुलामा राखेर डोरी तान्दै झुलाउने र भक्ति गीत गाउने गर्छन्।

शनिबार साँझ महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बाजागाजासहित झुलाघरसम्म लगिएपछि यस वर्षको झुलनोत्सव औपचारिक रूपमा सुरु गरिएको हो। पर्वभरि स्थानीय बासिन्दा तथा श्रद्धालुहरू मठमन्दिरमा जम्मा भएर भजन कीर्तन, नाचगान र पूजाआजामा सहभागी हुने गर्छन्।

झुला उत्सवका क्रममा मिथिलाको मौलिक लोकलयमा झुला, मलार र कजरी गीत गाउने परम्परा छ। प्राचीन मिथिला क्षेत्रमा व्यापक रूपमा मनाइने भए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ मन्दिर र जनकपुरधामस्थित जानकी मन्दिरको झुलनोत्सव विशेष चर्चित छ। त्यस्तै जलेश्वर–१ तथा बर्दिबास–१४ स्थित रामजानकी कुटीलगायतका धार्मिक स्थलमा पनि झुला महोत्सव आयोजना गरिन्छ।

झुलनोत्सव मिथिला क्षेत्रमा अयोध्या र वृन्दावनको धार्मिक परम्पराबाट प्रभावित भएर भित्रिएको जनविश्वास छ। जनकपुरधाम सीताको माइतीभूमि भएकाले मैथिल परम्पराअनुसार ज्वाइँ भगवान् रामलाई प्रसन्न पार्ने उद्देश्यले पनि यो पर्व मनाउने गरिएको मानिन्छ। परम्पराअनुसार विक्रम संवत् १७८७ तिर सन्त सुरकिशोर दासले मिथिलामा झुलनोत्सवको सुरुवात गराएको विश्वास गरिन्छ।

जनकपुरधामको मणिपर्वतसँग पनि झुला पर्वको विशेष सम्बन्ध रहेको छ। राम सीताको विवाहपछि राजा जनकले दाइजोस्वरूप दिएको बहुमूल्य मणिमाणिक्यको थुप्रोबाट मणिपर्वत बनेको धार्मिक मान्यता छ। जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तर पश्चिममा रहेको मणिपर्वतमा साउन शुक्ल तृतीयाका दिन पूजा गरेपछि झुला पर्व सुरु गर्ने मैथिल परम्परा छ।

मैथिल परम्पराअनुसार साउन पूर्णिमाका दिन झुलाको डोरी चुडाएर झुलनोत्सवको समापन गरिन्छ। मिथिलामा प्रचलित विद्यापति र मिथिला पञ्चाङ्गअनुसार साउन महिनाबाट नयाँ वर्षको धार्मिक चाडपर्वको क्रम सुरु हुने मान्यता छ। यही अवधिमा मधुश्रावणी, झुला, नागपञ्चमी र रक्षाबन्धनजस्ता पर्व क्रमशः आउने भएकाले झुलनोत्सवलाई मिथिलाको वार्षिक धार्मिक तथा सांस्कृतिक पर्वको सुरुआती कडीका रूपमा समेत लिने गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार