मलंगवा – सर्लाहीमा घरको दराजको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जिल्लाको लालबन्दी नगरपालिका – १ नवलपुर बस्ने २५ वर्षीय कुमार लोप्चन र सोही स्थानका ३२ वर्षीय रमेश तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार राति लालबन्दी – १ नवलपुर बस्ने ४० वर्षीय सुरेश तामाङको काठको दुई तल्ले घरको माथिल्लो तल्लामा रहेको दराजको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको थियो। घटनाबारे आइतबार बिहान करिब ८ः३० बजे प्रहरीलाई जानकारी प्राप्त भएको थियो।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा अनुसन्धान गर्ने क्रममा प्रहरीले शंकास्पद अवस्थामा कुमार लोप्चन र रमेश तामाङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूमाथि सोधपुछ गर्दा चोरी गरिएका सामानमध्ये केही सामान लालबन्दी – १ मै रहेको हरि तामाङको पुरानो भत्किएको घरमा माटोमुनि गाडेर राखिएको अवस्थामा फेला पारेको जनाएको छ।
बरामद सामानमा नगद ११ हजार १०० रुपैयाँ, करिब २.५ तोला तौलको चाँदीको ब्रेसलेट एक थान, करिब २ तोलाको चाँदीको सिक्री एक थान र करिब ७.५ तोलाका चाँदीका बाला पाँच थान रहेका छन्। बरामद सामानको अनुमानित मूल्य ५६ हजार ४२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
यस्तै, चोरी भएको भनिएको करिब ५ आना तौलको सुनको मुन्द्रा एक थान र करिब २.५ तोलाको चाँदीको बाला एक थान भने अझै बरामद हुन बाँकी रहेको प्रहरीले जनाएको छ। यी सामानको अनुमानित मूल्य १ लाख ११ हजार ७७५ रुपैयाँ रहेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा पठाइएको प्रहरीले जनाएको छ।





