मलंगवा – सर्लाहीमा अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ६ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। प्रहरीले उत्खननमा संलग्न तीन जना चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार २०८३ साल शनिबार र आईतबार लालबन्दी नगरपालिका – २ नवलपुरस्थित रेल्वे ट्र्याकको पुलमुनि, झुलुङ्गे पुल क्षेत्रमा रहेको लखनदेही खोला तथा लालबन्दी – ५ स्थित कालिन्जोर खोलामा अवैध रूपमा बालुवा–गिट्टी उत्खनन भइरहेको सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दी र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भइरहेका ६ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ट्र्याक्टरमध्ये ना.७ त १५२० नम्बरको ट्र्याक्टरका चालक हरिवन नगरपालिका–६ घुर्कौली टोलका ३७ वर्षीय जयफल मोक्तान, प्रदेश–०२–०३–००१ त २४९० नम्बरको ट्र्याक्टरका चालक सोही स्थानका २७ वर्षीय श्यामलाल मोक्तान र प्र०–२–०२–००१ त १८०६ नम्बरको ट्र्याक्टरका चालक लालबन्दी नगरपालिका–५ का २५ वर्षीय राम केवल महतो रहेका छन्।
त्यस्तै, ना.७ त ४२६९, प्रदेश–२–०२–००१ त २०३८ र को.२ त ४७२२ नम्बरका तीन वटा ट्र्याक्टरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका ट्र्याक्टर तथा चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिएका छन्।





