महोत्तरीको औरहीमा चापाकल खरिदमा ३६ लाख अनियमितता, प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र १, सोमबार २०:२४

सर्लाही – महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिदका क्रममा भ्रष्टाचार भएको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मिश्र, इन्जिनियर सन्तोषकुमार यादव, सब–इन्जिनियर विपिनकुमार मण्डल, तत्कालीन जिन्सी शाखा प्रमुख शिवशंकर यादव, तत्कालीन लेखापाल विजयकुमार यादव र तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादवविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको हो।

यस्तै, चापाकल आपूर्तिसँग सम्बन्धित डि.एम. जेनरल अर्डर सप्लायर्सका दुधनाथ कुमर, क्वालिटी सोलुसन कम्पनी प्रालि, बागडोल–४ ललितपुरका प्रबन्ध निर्देशक मनोजकुमार यादव र श्रीराम इन्टरप्राइजेज जलेश्वरका प्रोप्राइटर अमरनाथ कुमरलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा औरही नगरपालिकाले चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान पालना नगरी सामान आपूर्ति गरिएको अनुसन्धानबाट खुलेको छ।

चापाकल खरिद प्रक्रियामा भएको अनियमितताबाट सरकारी रकम हिनामिना भएको दाबी गर्दै अख्तियारले कुल ३६ लाख १३ हजार ३१ रुपैयाँ बिगो कायम गरेको छ। प्रतिवादीअनुसार फरक फरक बिगो निर्धारण गरी अभियोगपत्र दायर गरिएको आयोगले जनाएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम प्रतिवादीहरूलाई बिगोअनुसार जरिवाना तथा कैद सजाय माग गरेको छ। उनीहरूमध्ये विभिन्न व्यक्तिविरुद्ध जनही दुई लाखदेखि २० लाख रुपैयाँसम्म बिगो कायम गरी सोहीअनुसार सजायको माग गरिएको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार