सर्लाही – बाराको सिमरामा मृत अवस्थामा फेला परेकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान स्थानमा लगिएको र त्यहाँ बलात्कारपछि हत्या गरिएको जनाएको छ।
मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा बालिका मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई पुगेको थियो। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको थियो।
अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको पहिचान भएको हो। प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजेदेखि घरबाट हराएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक तथा जितपुरसिमरा–२ का करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने प्रलोभन देखाएर फकाई घटनास्थलमा लगेको आरोप छ। त्यहाँ जबर्जस्ती करणी गरेपछि बालिकाको हत्या गरिएको प्रहरीको भनाइ छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापा र उक्त म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बालिकाको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।





