सर्लाहीमा विभिन्न मुद्दाका १४ फरार प्रतिवादी पक्राउ

२०८३ भाद्र ३, बुधबार २०:२१

मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्यालय तथा मातहतका प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका प्रतिवादीहरूलाई सर्लाही जिल्ला अदालतमा दाखिला गरी अदालतको फैसला कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये चोरी मुद्दामा एक जना रहेका छन्। उनलाई २ वर्ष ११ महिना २ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यस्तै, ज्यानसम्बन्धी कसुरमा एक जना, अपमानजनक अमानवीय व्यवहारसम्बन्धी मुद्दामा दुई जना, कुटपिट तथा अंगभंग मुद्दामा चार जना, सार्वजनिक अपराधमा एक जना र सवारी ज्यानसम्बन्धी मुद्दामा दुई जना पक्राउ परेका छन्।

यसैगरी, अपहरण तथा शरीरबन्धकसम्बन्धी कसुरमा एक जना तथा ज्यान मार्ने उद्योग र डाँकासम्बन्धी मुद्दामा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। डाँका मुद्दामा पक्राउ परेका एक जनालाई भने पुर्पक्षका लागि कारागार कार्यालय मलंगवा चलान गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका १४ जनामाथि अदालतबाट तोकिएको कैद तथा जरिवाना गरी कुल ८ वर्ष ४ महिना ११ दिन कैद र ८ लाख ६१ हजार २०० रुपैयाँ जरिवाना कायम भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार