मलंगवा – सर्लाहीको लालबन्दी नगरपालिका – १४ डाइनीखोलाबाट प्रहरीले ६ सय ६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखाबाट बुधबार खटिएको प्रहरी टोलीले डाइनीखोलाका दुई छुट्टाछुट्टै स्थानमा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका – १४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुन माया थिङ रहेका छन्।

प्रहरीका अनुसार नरबहादुरले २६ वटा बोरामा प्याक गरी ५६० किलो गाँजा लुकाएर राखेका थिए। त्यस्तै, जेसुन मायाले गोठमा लुकाएर राखेको अवस्थामा थप १ सय किलो गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी जीवन निरौलाले जानकारी दिए।
बरामद गाँजासहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा बुझाइएको प्रहरीले जनाएको छ। घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको वा गाँजा कहाँबाट ल्याइएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





