सर्लाही – सरकारले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अनुदान कोटामा कार्यरत शिक्षक तथा विद्यालयमा कार्यरत कर्मचारीको तलब तथा पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार कक्षा ९–१० मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको पारिश्रमिक माध्यमिक तह तृतीय श्रेणीको शिक्षकको सुरु तलबसरह हुनेछ। त्यस्तै कक्षा ६–८ का शिक्षकको पारिश्रमिक निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको सुरु तलब बराबर कायम गरिएको छ।

यसअघि माध्यमिक तहका अनुदान कोटाका शिक्षकले मासिक ४३ हजार ६६९ रुपैयाँ र आधारभूत तहका शिक्षकले ३४ हजार ७३० रुपैयाँ पाउँदै आएका थिए। अब माध्यमिक तहका शिक्षकले ४८ हजार ५८ रुपैयाँ र आधारभूत तहका शिक्षकले ३८ हजार २०३ रुपैयाँ पाउनेछन्। त्यसैगरी संघीय सरकारले उपलब्ध गराउँदै आएको अनुदानअन्तर्गत ईसीडी सहजकर्ता, विद्यालय सहयोगी र लेखा हेर्ने विद्यालय कर्मचारीको पारिश्रमिक पनि बढाइएको छ।
ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट बढाएर १७ हजार रुपैयाँ पुर्याइएको छ। विद्यालय सहयोगीले अब १० हजारको सट्टा १५ हजार रुपैयाँ तथा लेखा हेर्ने विद्यालय कर्मचारीले १५ हजारको सट्टा २० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउनेछन्।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पारिश्रमिक वृद्धि कार्यान्वयन गर्दा सरकारमाथि वार्षिक ४ अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० रुपैयाँ थप आर्थिक दायित्व सिर्जना हुनेछ। सरकारले लामो समयदेखि अनुदान तथा न्यून पारिश्रमिकमा काम गर्दै आएका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो।





