मलंगवा – सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका पाँच जना प्रतिवादीलाई एकैदिन पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका प्रहरी टोलीले अदालतबाट दण्ड सजाय तोकिएका तथा मुद्दा चलिरहेका फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा अपमानजनक वा अमानवीय व्यवहारसम्बन्धी कसुरमा दुई जना, विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा एक जना, मोटरसाइकल चोरी मुद्दामा एक जना तथा ज्यान मार्ने उद्योग र कुटपिट अंगभंगसम्बन्धी कसुरमा एक जना रहेका छन्।

अपमानजनक वा अमानवीय व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका दुई जनामाथि जनही १ लाख रुपैयाँ जरिवाना तोकिएको छ। त्यस्तै, विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका एक जनालाई १ लाख रुपैयाँ र मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका अर्का व्यक्तिलाई २७ हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ।
ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंगसम्बन्धी मुद्दामा पक्राउ परेका एक जनाको भने मुद्दा चालु अवस्थामा रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





