शिक्षिकाको कुटाइबाट ६ बर्षिय बालकको मृत्यु

२०८३ भाद्र ४, बिहीबार २०:४६

सर्लाही – भारतको विशाखापट्‌टनममा शिक्षिकाको कुटाइपछि ६ वर्षीय बालकको मृत्यु भएको घटना सार्वजनिक भएको छ। होमवर्क नगरेको भन्दै शिक्षिकाले बालकमाथि कुटपिट गरेको र त्यसपछि बालक कक्षामै ढलेको घटना सीसीटीभी क्यामेरामा कैद भएको जनाइएको छ।

मृत्यु हुनेमा लिटिल गार्डन्स स्कुलको यूकेजीमा अध्ययनरत प्रणय तेजा रहेका छन्। परिवारका सदस्यले शिक्षिकाले थप्पड हानेपछि बालक अत्यधिक डराएको र त्यसकै कारण हृदयाघात भएको आरोप लगाएका छन्।

सीसीटीभी फुटेजमा होमवर्क नगरेको भन्दै बालकलाई लज्जित बनाउने प्रयास गरेको र त्यसपछि शिक्षिकाले थप्पड हानेको देखिएको बताइएको छ। कुटाइपछि बालक शिक्षिकाकै काखमा ढलेका थिए।

घटनापछि बालकलाई तत्काल किङ जर्ज अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्रै घटना बाहिर आएको हो। त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

प्रहरीले सीसीटीभी फुटेजको अध्ययन गर्नुका साथै बालकलाई यसअघि कुनै स्वास्थ्यसम्बन्धी समस्या थियो वा थिएन भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले बालकको मृत्युको वास्तविक कारण यकिन गर्न पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिरहेको जनाएको छ। पोस्टमार्टम रिपोर्टपछि घटनाको कारणबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार